Social Icons

My article


तपाई सबै सबैलाई.. 'माया के हो' ? भनेर मैले सोधेँ भने, यहाँ अनेक किसिमका परिभाषाहरुको ओइरो लाग्ने छ । सबैले आ–आफ्नै किसिमले प्रेमलाई परिभाषित गर्नु हुनेछ । कसैले पनि 'फलानोको बिचार सहि हो', भन्दै सहमति जनाउने हुने छैन । बरु सबैले, 'प्रेम भनेको यसो हो', 'त्यसो होईन' भन्दै आफ्नो कुरा सत्य भएको दावी गर्नुहुनेछ ।

संसारमा सबभन्दा बढि परिभाषा दिएर पनि परिभाषित हुन नसकेको शब्द सायद 'प्रेम' नै हो । जसमा कसैको परिभाषामा पनि एकरुपता पाईदैन । प्रेमको सार कुनै कुराप्रतिको आकर्षण मात्रै हो कि, या अरू केही पनि हो, यो प्रश्न बडो जटिल छ सबैको लागि। 'प्रेम' मानिस–मानिसको बीचमा मात्र नभएर मानिस र चराचुरुङ्गीदेखि सबै प्रकारका जन्तु जनावर बीचमा रहेको देखिन्छ । तपाईँ कुकुरलाई औधि माया गर्न सक्नुहुन्छ, बिरालो तपाईँको प्रिय रहेको होला, वा तपाईँको घरमा सुगा, मैना वा कुनै सुन्दर चरा होलान् ।

   'जेरिड डायमन्ड'को एउटा किताब छ, 'राइज एन्ड फल अफ थर्ड चिम्पान्जी' । 'जेरिड डायमन्ड'ले यो किताबको एउटा च्याप्टरमा चराहरूको रोमाञ्चक प्रेम कहानीको वर्णन गरेका छन् । उनले पुस्तकमा 'मजुर किन नाच्छ ?' भन्दै प्रश्न खडा गरेका छन, अनि सो प्रश्नको उत्तरमा उनले , 'भाले मजुर पोथीलाई आकर्षित गर्नको लागि नै नाचेको हो', भनेका छन। यस्तै अरू धेरै उदाहरणहरू उनले आफ्नो पुस्तकमा दिएका छन । उनले उल्लेख गरेका उदाहरणहरुमा आफ्नै छुट्टै रोचक कथा र तथ्यहरू छन्, त्यो चर्चाको छुट्टै विषय हुन सक्छ ।

पश्चिमी देशहरूमा पारिवारिक विघटनको उत्कर्षको कारणले गर्दा होला मानिस र घरपालुवा जनावरहरूसँगको सामिप्यता हामीलाई असामान्य लाग्ने हदसम्मको देख्‍न पाइन्छ । आम मानिसहरूमा आफ्नो स्वार्थअनुसारको प्रेमयोग्य वस्तु फेला पर्ने बित्तिकै आफ्नो परिवारलाई चटक्क छाडिदिने प्रवृत्ति हुन्छ ।, तर जनावरहरू त्यस्तो स्वार्थी नभएकोले हो किरु जेसुकै रूपमा होस् र जे जेको बीचमा रहेको किन नहोस्, प्रेमको मूल तत्व भने पक्कै पनि एउटै हुनुपर्छ ।

 मलाई अहिले चर्चा गर्न मन लागेको प्रसङ्ग मानिस-मानिसबीचको 'प्रेम' हो।   प्रेमका विविध रूप छन् – 'सन्तान प्रेम', 'मातृपितृ प्रेम', 'सखा प्रेम', 'दाम्पत्य प्रेम' आदि आदि। 'दाम्पत्य प्रेम'भित्र मैले 'युवा-युवती' वा भनौँ 'पुरुष र स्त्री'बीच हुने विपरित लिङ्गी आकर्षणलाई राख्न खोजेको हुँ। त्यसो त यो परिभाषा आज खन्डित भइसकेको छ, समलिङ्गी दाम्पत्य जीवनका प्रसङ्गहरूले । हाम्रो समाजमा यो नराम्रो लाग्न सक्ला, अपाच्य होला, घृणाको विषय हुन सक्ला, तर पश्चिमी समाजले यसलाई बिस्तारै सहज रूपमा लिन थालेको देखिन्छ । नेपालमा पनि समलिङ्गी विवाहले वैधता पाउन थालेको हो कि भन्ने सङ्केतहरू देखिएका छन् । प्रौढावस्थामा सन्तानहरू आफूसँग नरहने हुँदा विवाहको मुख्य उद्देश्य सन्तान उत्पादन हो भन्ने परम्परागत परिभाषा विखण्डित भएको अवस्था हो यो । जब विवाहको अर्थ सन्तान उत्पादन होइन भने, किन विपरित लिङ्गीसँग मात्र विवाह गर्नु ?, के विपरित लिङ्गीबाट मात्र माया, स्नेह र प्रेम पाइने हो र ? अर्को कुरा रह्यो यौनसम्बन्धको । यौनआनन्द भनेको शारीरिक कम, मानसिक र मनोबैज्ञानिक बढी हो भने अब जोसँग जसरी भए पनि के फरक पर्यो र र ? समलिङ्गी विवाह र सम्बन्धको बारेमा मैले बुझेको कोरा गन्थन यहि हो । कसैको आँखाले यसलाई प्राकृतिक नदेख्ला तर देख्नेहरूले देख्न सक्छन् । यसमा मलाई अहिले साक्षी भावले हेर्न मात्र मन लागेको छ ।   जे होस्, कुरा प्रेमको हो, कुरा आकर्षणको हो, कुरा समर्पणको हो ।

 सोह्रौँ शताब्दीतिर होला एक रीतिकालिन कविले खडी भाषामा लेखेको कविताको दुई हरफमा प्रेमलाई यसो भनिएको छ ।

 माई न होती बाप न होते प्रेम न होता काया,
तुम नहीँ होते हम नहीँ होते कौन कहाँ ते आया !


मैले जति पनि प्रेमका प्रसङ्गहरू देखे पढेको छु, तिनमा आफ्नो लागि भन्दा पनि आफ्ना प्रेमीरप्रेमिकाका लागि बढी बाँचेको देखेको छु । त्यो किन हो ? म व्याख्या गर्न सक्दिन। धेरै दृष्टान्त छन्, प्रेमका लागि जीवन अर्पण गरेका । कैयौँ घटना हाम्रै समाज, परिवारमा घटिरहेकै छन् । सुन्दा मुटु चसक्क हुन्छ, आँखा अलिकति रसाउँछ । बस् फेरि हामी आफ्नै सांसारिक जीवनमा फर्किहाल्छौँ । आफूले रोजेको केटा वा केटीसँग विवाह गर्न नपाउँदा आत्महत्या गरेका घटनाहरू बेलाबेलामा सुन्नमा आइरहन्छन् । घरपरिवारले अस्वीकार गरेको खण्डमा घरपरिवार नै त्यागेका कुरा पनि यत्रतत्र देखिन्छन् । सिनेमाहरूमा त प्रायः यस्ता कुरा प्रशस्तै देख्न पाइन्छ । विशेष गरी हिन्दी सिनेमाको एउटा मुख्य विषय यही रहेको हुन्छ । र धेरैजसो वियोगका कथाहरू नै चर्चामा रहन्छन् र यसले साहित्य पनि निकै जन्माएको छ ।

मलाई अहिले भक्तराज आचार्यको स्वरको एउटा गीत सम्झना भइरहेछ यो प्रसङ्गमा।

  कोही नगरोस् प्रेम अमर प्रेमको मूल्य कहाँ छ? 
मिल्दो रहेछ व्यथा हजार सुखको किनार कहाँ छ?  

 यस्ता धेरै प्रेम कहानीहरू छन् । जस्तो कि 'लैला-मजनु', 'रोमियो-जुलियट', 'मुना-मदन', 'हीर-राँझा', 'नल-दमयन्ती', 'सावित्री-सत्यवान' आदि आदि। 'नल-दमयन्ती' र 'सावित्री-सत्यवान'का कथाहरू वियोगपछि संयोगमा टुङ्गिएका छन् । ताजमहल प्रेमको तीर्थस्थल बनेर उभिरहेकै छ । तर पनि मेरो तिर्सना जस्ताको तेस्तै छ – प्रेमको बारेमा मेरो मनमा उब्जेको जिज्ञासा जस्ताको तेस्तै छ । प्रेमको साश्वततालाई मृत्युले पुष्टि गर्छ कि जीवनले ? प्रेम आदिसत्य हो कि अन्तिम सत्य हो कि प्रेम?, माया जस्ता कुरा प्राणीहरूलाई संसारमा अल्मल्याउने एउटा भ्रम मात्र हो ?, यो प्रश्न अद्वैत वेदान्तीहरूलाई सोध्दा ‘हो’ नै भन्लान् । तर सबै मानिस अद्वैत वेदान्ती हुन हुँदैनन । सबै वेदान्ती भए यो सृष्टि यहाँसम्म आइपुग्ने पनि थिएन । अनि यो प्रश्न पनि ‘प्रश्न’ हुँदैनथ्यो होला । गन्थन जति गरे पनि म घुम्दै फिर्दै फेरि प्रारम्भमै पुगेको छु। प्रश्नहरूको ‘कुचक्र’ मा घुमिरहेको छु।

.......आखिर प्रेम के हो??

--बिशाल सापकोटा (रेडियो पत्रकार)

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates