Social Icons

Sunday, November 24, 2013

अख्तियार प्रमुख लोकमानसिंहको पद धरापमा

कांग्रेस एमालेले कार्कीलाई विदा गर्छन् कि टीको लगाउँछन् ?

९ मंसिर, काठमाडौं । कांग्रेस र एमालेले दुईतिहाइ बहुमत हासिल गर्ने निश्चित भएपछि अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको पद धरापमा पर्ने सम्भावना देखिएको छ । रेग्मी सरकारले कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गरेकोमा कांग्रेस र एमालेभित्र तीब्र असन्तुष्टि रहँदै आएको थियो । अब व्यवस्थापिका संसदमा यी दुई दलको स्पष्ट दुईतिहाइ बहुमत पुग्ने भएपछि कार्कीमाथि महाअभियोग लाग्ने सम्भावना बढेको छ ।

lokman karki
लोकमानसिंह कार्कीलाई जनआन्दोलनमाथि दमन गरेको कांग्रेस एमालेका नेताहरुले आरोप लगाउँदै आएका छन् । यद्यपि कांग्रेस र एमालेभित्रैका केही शीर्षनेतासँग राम्रो साँठगाँठ रहेकाले कार्कीको पद सुरक्षित हुन सक्ने पनि धेरैको अनुमान छ । कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्ने बेलामा उच्चस्तरीय राजनीतिक समितिको बैठकमा कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालले पन सिहमति जनाउनुभएको थियो ।

विगतमा गिरिजाप्रसाद कोइरालासँग राम्रो सम्बन्ध बनाएर कार्की सरकारको मुख्य सचिव बन्न सफल हुनुभएको थियो । कार्कीकै कारण कांग्रेस नेता बलवेद शर्मा मजगैयाले मन्त्रीबाट राजीनामा दिनुभएको थियो । अब कांग्रेस र एमालेका नेताहरुले सुविधाजनक रुपबाट दुई तिहाइ बहुमत ल्याएको अवस्थामा आफैंले जनआन्दोलनका दोषी करार गर्दै विरोध गरेका लोकमानसिंहलाई अख्तियार प्रमुखमा निरन्तरता दिन्छन् या महाअभियोग लगाएर हटाउँछन्, त्यो भने हेर्न बाँकी नै छ ।

आफूमाथि महाअभियोग नलगाउन कार्कीले शुरुदेखि नै कांग्रेस र एमालेका नेताहरुसँग लबिङ गर्ने सम्भावना बढेको छ । तर, महाअभियोग लागिहालेमा अदालत गएर रोक्ने सम्भावना पनि देखिन्छ । यद्यपि महाअभियोग जस्तो संसदको विशेषाधिकारमाथि अदालतले हस्तक्षेप गर्नु शक्तिपृथक्कीकरण विपरीत मानिन्छ ।

अख्तियार प्रमुखमा नियुक्तिका बेला चर्को विरोधको सामना गरेका कार्कीले आफ्नो नियुक्तिपछि गरेका केही कामहरुले गर्दा उहाँ जनमानसमा लोकपि्रय देखनि थाल्नुभएको छ । भ्रष्टाचार गर्ने कर्मचारीलाई अख्तियारको खोरमा खचाखच पार्न थालेपछि लोकमानको हाईहाई गर्नेहरु पनि बढेका छन् । तर, भ्रष्टाचारको अभियोग लागेका कांग्रेस एमालेलाई समर्थन गर्ने कर्मचारीहरु भने लोकमानसँग आक्रोशित भएका छन् । विशेष गरी एयरपोर्टका कर्मचारीले विज्ञप्ति नै निकालेर लोकमानको विरोध गरिसकेका छन् । अब कांग्रेस र एमालेको स्थायी सरकार बनेपछि यी कर्मचारीहरु बलिया हुने छन् भने लोकमान कमजोर ।

लोकमान सिंहलाई एमाओवादी नेता प्रचण्ड निकट व्यक्तिका रुपमा हेर्ने गरिएकोमा निर्वाचनपछि एमाओवादी कमजोर बनेपछि लोकमानसिंह कार्की केही कमजोर बनेको महसुस गर्न सकिन्छ । तर, विगतमा राजाको सत्ता ढल्नासाथ कांग्रेसको विश्वास जित्न सफल कार्कीले बीबीसीलाई दिनुभएको एउटा अन्तरवार्तामा आफूले नेताहरुलाईै रिझाउन सक्नु आफ्नो योग्यता खुबी भएको बताउनुभएको छ । अब नयाँ सरकार गठन भएपछि उहाँले यही कला र खुबी प्रयोग गरेर अख्तियारमा टिक्नुहुन्छ या महाअभियोगको सामना गर्नुहुन्छ, त्यो केही महिनापछिमात्रै थाहा हुनेछ ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates