Social Icons

Saturday, November 23, 2013

कहाँ कहाँ- गुम्यो एमाओवादीको आधार इलाका ?


एमाओवादीको लालकिल्लामा कांग्रेस र एमालेको झण्डा

८ मंसिर, काठमाण्डौ । अघिल्लो संविधानसभा निर्वाचनको तुलनामा दोस्रो निर्वाचनमा परिदृश्य पुरै १ सय ८० डिग्री उल्टो घुमेको छ । अघिल्लो निर्वाचनमा एमाओवादीले एकलौटी जित हासिल गरेका अधिकांश जिल्लाहरु यसपटक भने काँग्रेस र एमालेले आफ्नो पोल्टामा पारेका छन् । अघिल्लो निर्वाचनमा जितेका एमाओवादीका धेरैवटा ‘लाल किल्ला’हरु भत्केका छन् ।hasiya hatauda
एमाओवादीले अघिल्लो निर्वाचनमा गोरखा, दाङ, सल्यान, रोल्पा, रुकुम, प्युठान, ललितपुर, धादिङ, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा आफ्नो वर्चश्व कायम गरेको थियो । तर मंसिर ४ मा भएको संविधान सभाको निर्वाचनको मतपरिणाम जारी रहँदा रोल्पा, रुकुम र गोरखाबाहेक अरु सबै क्षेत्रमा उसले आफ्नो बर्चश्व गुमाएको छ ।
एमाओवादीले अघिल्लो निर्वाचनमा एकलौटी कब्जा गरेको दाङ र ललितपुरमा काँग्रेसले बर्चश्व जमाएको छ । एमाओवादीको बर्चश्व रहेको धादिङमा एमालेले वर्चश्व कायम गरेको छ । बाबुराम भट्टराई व्यक्तिलगत प्रभाव रहेको उहाँको गृहजिल्ला गोरखा र जनयुद्धको उद्गमस्थल मानिने रुकुम र रोल्पामा भने एमाओवादीले आफ्नो पुरानो अस्तित्व टिकाएको छ ।
देशभर नै एमाओवादी तेस्रो शक्तिको रुपमा उभिएको छ । एमाओवादीले अहिले ल्याएको सीट अघिल्लो निर्वाचनमा एमाले र काँग्रेसले प्रत्यक्षमा ल्याएको सिटभन्दा नाघ्ने स्थिति छैन । अघिल्लो निर्वाचनमा २ सय ४० मध्ये प्रत्यक्षमा १ सय २० क्षेत्रमा विजयी भएको एमाओवादीले अहिले लगभग ८० प्रतिशत सीट गुमाएको छ । एमाओवादीले गुमाएका ती सीटहरु काँग्रेस र नेकपा एमालेले बाँडेर लिएका छन् । एउटा मात्रै निर्वाचन क्षेत्र रहेका महाकाली, सेती र कणर्ालीका धेरै जिल्लाहरुबाट एमाओवादी बढारिएको छ ।
चार जिल्ला कांग्रेसका किल्ला
नेपाली काँग्रेसले अघिल्लो निर्वाचनमा दाङका पाँचवटै क्षेत्रमा पराजय भोगेको थियो । दाङका सबै सीट एमाओवादीले जितेको थियो । तर, यसपालि काँग्रेसले दाङका पाँचैवटा सीट एमाओवादीबाट फिर्ता लिएको छ । यस्तै अघिल्लो चुनावमा एमाओवादीले कब्जामा लिएका कञ्चनपुर जिल्लाका ४ वटै क्षेत्र नेपाली काँग्रेसले खोसेको छ । यसअघि कञ्चनपुरका चारवटै क्षेत्रमा एमाओवादीले बाजी मारेको थियो । एउटा क्षेत्रमा काँग्रेसका शेरवहादुर देउवाले जिते पनि उपनिर्वाचनमा एमाओवादीले खोसेको थियो । तर, अहिलेको चुनावमा एमाओवादीले कञ्चनपुरबाट एक सीट पनि जितेन ।
पहिलो संविधानसभा निर्वाचनमा ललितपुरका तीनवटै क्षेत्र एमाओवादीले कब्जा गरेको थियो । अहिले ललितपुरको लालकिल्ला तोड्दै काँग्रेसले तीनवटै क्षेत्र एमाओवादीबाट आफ्नो हातमा लिएको छ । यसैगरी अघिल्लो निर्वाचनमा एक सिटमात्रै जितेको नुवाकोटमा पनि काँग्रेसले तीनवटै क्षेत्रमा जीत दर्ता गरेर एमाओवादीलाई शुन्य सीटमा झारेको छ । यसअघिको निर्वाचनमा कञ्चनपुर, दाङ, ललितपुर र नुवाकोट गरी कुल १५ सिटमध्ये एमाओवादीले १४ सिटमा जित हासिल गरेको थियो । तर, अहिले एमाओवादीले यीमध्ये कुनै एउटा क्षेत्रमा पनि जीत हासिल गर्न सकेन ।
पहिले २ सीट जितेको धनकुटामा यसपालि एमाओवादीले दुबै सीट गुमाएको छ । पहिले ५ सीट जितेको मेची अञ्चलमा यसपालि एमाओवादी काठमाडौं उपत्यकामा जस्तै शुन्य सीटमा झरेको छ । पहिले ४ सीट जितेको मोरङमा यसपालि ४ नम्बर क्षेत्रको एउटा सीट मात्रै जितेको छ, त्यो पनि ८ भोटको अन्तरले । एमाओवादी सुनसरी जिल्लामा शून्य सीटमा झरेको छ ।
मधेसमा मेचीमहाकाली अभियानपछि बहुमत जित्ने बताएको एमाओवादीले कोचिलाका २२ सीटमध्ये १ सीटमा चित्त बुझाउनुपरेको छ ।
७ जिल्ला एमाले अरुलाई बढार्‍यो
अघिल्लो निर्वाचनमा गुमाएको साख एमालेले अहिलेको निर्वाचनमा मज्जाले फर्काएको छ । अघिल्लो निर्वाचनमा एमाओवादीले वर्चश्व कायम गरेका ७ जिल्लालाई एमालेले आफ्नो पक्षमा पारेको छ । उसले धादिङ, भोजपुर, खोटाङ, ताप्लेजुङ, अछाम, धादिङ र प्युठानमा एमाओवादीलाई कुचो लगाएको छ । माओवादी बलियो मानिएका जनजाति बाहुल्य भोजपुर र खोटाङमा एमालेले एमाओवादीको किल्ला तोडेको छ ।
तीन जिल्लामा एमाओवादी हाबी


अघिल्लो निर्वाचनमा आफू हाबी भएकामध्ये तीन जिल्लामा मात्रै एमाओवादीले आफ्नो बर्चश्व कायमै राखेको छ । अघिल्लो निर्वाचनमा ‘क्लिन स्वीप’ गरेका १४ जिल्लामध्ये एमाओवादीले गोरखा, रुकुम र रोल्पामा मात्रै आफ्नो पडक कायम गर्न सकेको हो ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates