Social Icons

Sunday, November 24, 2013

संविधानसभामा जाने या नजानेबारे एमाओवादीमा मिश्रित धारणा

काठमाडौं, ९ मंसिर
एकीकृत नेकपा माओवादीभित्र संविधानसभामा सहभागी भएर जाने वा बहिष्कार गर्ने भन्ने बारेमा विवाद देखिएको छ । कतिपय नेताहरु संविधानसभालाई उपयोग गरेर अगाडि बढ्नुपर्ने बताउँछन् भने कतिपयले बहिष्कार गर्नुपर्ने धारणा राख्छन् । नेताहरु  बिच नै मतभेद देखिएपछि त्यसलाई मथ्थर गरेर आगामी रणनीति तय गर्न सोमबारदेखि पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ ।  एमाओवादीको पूर्व पोलिटव्यूरो बैठक भने जारी नै छ । शनिबारदेखि शुरु पूर्व पोलिटब्यूरो सदस्यहरुलगायतका नेताहरुको बैठक आइतबारपनि जारी छ । शनिबारको पूर्व पोलिटव्यूरो बैठकमा नेता लोकेन्द्र विष्ट मगरले पार्टीमाथि साइलेन्ट अट्याक भएको बताएका थिए । चुनावी प्रचारका क्रममा जनताको घरदैलोमा पुग्दा राम्रो प्रतिक्रिया


पाएको तर त्यो चुनावमा प्रतिबिम्बित नभएको उनले बताए । सिल फोरेको मत पेटिका भेटिनु, एकै तरिकाले पट्याएका मतपत्र हुनुजस्ता कुराले निर्वाचनमा धाँधली भएको कुरामा कुनै शंका नरहेको उनको भनाई थियो । पूर्व जनमुक्ति सेनाका कमाण्डर नन्दकिसोर पुन ‘पासाङ’ले  आफूलाई निर्वाचनमा पहिलेनै धाँधली भएको शंका लागेको भन्दै सुप्रभा घिमिरेको मतदान केन्द्रमा उनको र उनको एजेन्टको मत नरहेको पाइएपछि धाँधली प्रष्ट भएको बताए । 

यद्यपि परिणाम आइसकेको अवस्थामा त्यसलाई स्वीकारर्नुपर्ने उनको भनाई थियो । अर्का नेता देवेन्द्र पौडेलले संविधानसभा आफ्नो एजेण्डा भएपनि आफ्नो भूमिका महत्वपूर्ण नहुने भएपछि त्यसैलाई च्यापिराख्नु उपयुक्त नहुने बताए । आक्रामक रुपमा प्रस्तुत भएका पौडेलले पार्टीले नयाँ तरिकाको लडाईं सुरु गर्नुपर्ने र राजनीतिक कोर्सनै परिर्वतन गर्नुपर्ने बताए । एमालेबाट प्रवेश गरेका नेता रामचन्द्र झाले यस चुनावमा धाँधली भएकोमा कुनै शंका नरहेको बताए 

। उनले भने ‘किन मतदान अधिकृतहरुको छोटो र लामो दुवै दस्तखतको नमूना पहिलेनै लिइयो रु यसकुराको छानविन हुनुपर्छ ।’अर्का नेता वर्षमान पुन ‘अनन्त’ले अधिकांश मतपेटिकामा मुचुल्का नभएको र भोट हालेको ठाउँको रेजा नभएको उल्लेख गरे । रेजा खै भनेर माग गर्दा समेत आलटाल गर्दै ६ घण्टापछि मात्र रेजा ल्याइएको भन्दै उनले धाँधली भएको बताए । उनका अनुसार १ घण्टामा पुग्ने बाटोमा नेपाली सेनाले ६ घण्टा लगाएर मतपेटिका पु¥याएको थियो । राज्य समिति संयोजक तथा इन्चार्जहरुको शनिबारदेखि काठमाडौंमा जारी वैठकमा संविधानसभामा सहभागी हुने वा नहुने भन्ने विषयमा पार्टीभित्रै गम्भीर छलफल चलिरहेको केन्द्रीय सदस्य हरिबोल गजुरेलले बताए ।उनले भने, ‘संविधानसभाबाट संविधान बन्न सक्दैन। बन्यो भनेपनि यथास्थितिवादी र प्रतिगामी संविधान नै बन्छ भन्ने एउटा कोण भयो ।

 जुन मार्गबाट हामी आएका छौं त्यसलाई पुर्नविचार गर्नुपर्छ र सदनको मोर्चा पनि छोड्नु हुदैन भन्ने अर्को कोणबाटपनि कुरा आइरहेका छन् ।’उनले सरकारमा सहभागी हुने सम्भावना सकिएको भन्दै सडक र सदन दुइटैलाई परिचालन गरेर राष्ट्रलाई अग्रगामी दिशातिर लैजान पहल गर्ने निर्णय हुन सक्ने संकेत गरे । निर्वाचनको मत परिणामहरुमा एकीकृत माओवादी तेस्रो दलको रुपमा देखिएपछि धाँधली र षडयन्त्रपूर्वक आफुहरुलाई हराउन खोजिएको भन्दै विहिबार विहान सो पार्टीले जारी प्रक्रिया स्थगन नगरिए संविधानसभाबाटै बाहिरिने चेतावनी दिएको थियो ।तर सो निर्णय फिर्ता लिन प्रमुख दलहरु, अन्तर्राष्ट्रिय समुदाय तथा नागरिक समाजले दबाब दिंदै आएका छन् ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates