Social Icons

Friday, November 22, 2013

मतगणना बहिष्कार गर्नेले जिते के हुन्छ ?


 काठमाडौं, ६ मंसिर । 
मतगणना बहिष्कार गर्ने उम्मेदवार निर्वाचित भएमा के हुन्छ ? एमाओवादीले मतगणना बहिष्कार गरेपछि यो प्रश्न उठिरहेको छ । वास्तवमा, मतदान भइसकेपछि मतगणना बहिष्कार गरेका आधारमा उम्मेदवारको हार र जितको हैसियतमा कुनै फरक पर्दैन । बहिष्कार गरे पनि उम्मेदवार विजयी भएमा ऊ संविधानसभा सदस्य बन्छ ।

अहिले एमाओवादीले मतगणना मात्र बहिष्कार गरेको हो, चुनावको सम्पूर्ण प्रक्रियाबाट बाहिरिने घोषणा गरेको छैन । मुखले या राजनीतिक निर्णयले मतगणना बहिष्कार गरे पनि कानुनी रुपमा एमाओवादी निर्वाचन प्रक्रियाभित्रै रहेको छ ।

एमाओवादी प्रतिनिधिहरु मतगणना स्थलमा छैनन्, तैपनि मतगणना जारी छ । किनभने कुनै उम्मेदवार या पार्टीले बहिष्कार गर्दा मतगणना रोकिने कानुनी प्रावधान छैन । बरु, संविधानसभा निर्वाचन सम्बन्धी ऐनमा थालनी भइसकेको मतगणना लगातार गर्ने तर बीचमा नरोक्ने व्यवस्था छ । यही कानुनी व्यवस्थाको कारणले रातभरि पनि मतगणना गरिएको हो ।

चुनावमा सहभागी हुनु या उम्मेदवार बन्नु भनेको संवैधानिक तथा कानुनी प्रक्रियामा सहभागी हुनु हो । संविधानसभा सम्बन्धी ऐन अनुसार कुनै उम्मेदवारले मतगणना बहिष्कार गरेको अवस्थामा उसले पाउने मतमा कुनै हेरफेर हुन सक्दैन । मतगणना बहिष्कार गर्नु राजनीतिक विषय हो भने मतगणना कानुनी प्रक्रिया हो, राजनीतिक सहमति या असहमतिले यस्तो कानुनी प्रक्रियालाई फरक पार्न सक्दैन ।

कुनै पनि व्यक्ति या उम्मेदवार मतदानको प्रक्रियामा पसिसकेपछि उसको मतगणना रोक्न सकिने प्रावधान छैन । एमाओवादीले बहिष्कार गरेको हुनाले कुनै क्षेत्रमा ऊ प्रथम भयो भने द्धितिय भएको उम्मेदवारलाई विजयी बनाउन सकिँदैन । सो क्षेत्रबाट एमाओवादी नै विजयी भएको मानिन्छ ।

जित्ने एमाओवादी उम्मेदवारले विजयी भएको प्रमाणपत्र भने लिने छैनन्, किनभने उनीहरुले मतगणना बहिष्कार गरेका छन् । मतगणना बहिष्कार गरिसकेपछि विजयको प्रमाणपत्र लिनु नैतिक हुँदैन । तर, जित्ने एमाओवादी उम्मेदवारलाई प्रमाणपत्र लिनबाट कुनै पनि कानुनले बञ्चित गर्न सक्दैन । प्रमाणपत्र नलिएकै आधारमा विजयी उम्मेदवारको हैसियत फरक पर्दैन ।

विजयी भएपछि उम्मेदवारलाई सम्बन्धित निर्वाचन क्षेत्रका अधिकृतले विजयको प्रमाणपत्र दिनुपर्छ । अहिले विजयी भएका उम्मेदवारहरुलाई निर्वाचन अधिकृतले तत्कालै प्रमाणपत्र दिने गरेका छन् । तर, विजयी उम्मेदवारले तत्कालै प्रमाणपत्र नलिएमा के हुन्छ ? कानुनविद्हरुका अनुसार प्रमाणपत्र नलिँदैमा केही फरक पर्दैन ।

विजयी उम्मेदवारले प्रमाणपत्र कहिलेसम्ममा लिनुपर्छ भन्ने कुनै सिमा तोकिएको छैन । त्यसैले भोलि राजनीतिक सहमति भएर संविधानसभामा भित्रिने बेलामा मात्र एमाओवादीका जित्ने उम्मेदवारहरुले प्रमाणपत्र लिए हुन्छ । यो कुरा नबुझेको भए एमाओवादीले मतगणना बहिष्कार गर्ने थिएन ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates