Social Icons

Saturday, November 23, 2013

एउटा मात्रै कारणले हारेको होइन एमाओवादी

अरुण बराल/राजनीतिक टिप्पणी
एकीकृत नेकपा माओवादी शर्मनाक रुपमा पराजित हुनुको कारण के हो ? यतिबेला आम जनमानस र स्वयं पार्टी कार्यकर्तालाई यो प्रश्नले कुत्कुत्याइरहेको छ । एमाओवादी नेताहरुले भने देशी विदेशी षड्यन्त्रबाट रातारात मतपत्र साटेर आफूहरुलाई हराइएको आरोप लगाउँदै छन् । तर, के धाँधलीकै कारण एमाओवादीको यस्तो परिणाम आएको हो त ? यसबारे गम्भीर विश्लेषण गर्नुपर्ने खाँचो देखिएको छ ।
मतगणना प्रक्रियालाई वीचैमा रोकेर समग्र चुनावी प्रक्रियाको पुनरावलोकन गरिनुपर्ने बताएको एमाओवादीले पुनरावलोकनको प्रक्रिया कस्तो हुन्छ भन्ने स्पष्ट पारेको छैन । निर्वाचनमा धाँधली भयो भन्ने प्रचण्डको कुरालाई नै मान्ने हो भने पनि कुन-कुन क्षेत्रमा धाँधली भयो भन्ने छुट्याएर हेर्नुपर्छ । र, सोही क्षेत्रको मात्रै मतदान प्रक्रियालाई पुनर्विचार गर्न सकिन्छ । तर, सिंगै देशैभरिका निर्वाचन प्रतिनिधिहरुलाई मत गणनास्थलबाट फिर्ता बोलाएर सोलोडोलो प्रक्रियाकै पुनर्विचारको माग गर्नु भनेको अर्को चुनाव गर्नुपर्छ भन्नुजस्तै हो । एमाओवादी अध्यक्ष प्रचण्डले देशभरिको चुनावको पुनरावलोकन गर्नुपर्छ भन्नुभएको हो ? मतपेटिका खोलेर आधाउधी गणना गरिसकेका अवस्थामा यसबारे पुनरावलोकन कसरी गर्ने ? एमाओवादी नेताहरुले यसबारे स्पष्ट पार्न सकेका छैनन् ।
देशैभरिका मतदान केन्द्रहरुबाट मतपेटिका जिल्ला सदरमुकाममा ओसार्दा दलका एजेन्टलाई साथमा नराख्नु, मतपेटिकामा दलको छापविनै प्लाष्टिकको स्टिकर टाँटेर कार्यकर्ताको अनुपस्थितिमा सुरक्षाकर्मीले मतपेटिका लैजानु, सील तोडिएको अवस्थामा मतपेटिका भेटिनु अनि वास्तविक मतदाता संख्याभन्दा बढी मत खसेको भेटिनुजस्ता कारणहरुले चुनावमा रातारात धाँधली भएको हुनसक्ने एमाओवादीको दाबी छ । यस्तो दाबीका साथ मतगणना एमाओवादीले बहिस्कार  गरेको छ । शुक्रबार बेलुकासम्म आइपुग्दा तेस्राचे स्थानमा र्झन थालेपछि सद्भावना पार्टीका राजेन्द्र महतोहरु पनि चुनावमा धाबाधली भयो भन्दै वक्तव्यवाजीमा उत्रन थालेका छन् ।
रुपन्देही ४ का मतपेटिका डीएसपीले शंकास्पदरुपमा नियन्त्रणमा लिएको एमाओवादी नेता डा. बाबुराम भट्टराईले पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बताउनुभएको छ । त्यस्तै काठमाडौं ४ र काठमाडौं ९ मा पनि धाँधली भएको एमाओवादी अध्यक्ष प्रचण्डले विहीबार बिहान आयोजित पत्रकार सम्मेलनमा बताउनुभएको छ । एमाओवादी नेता विश्वनाथ साहका अनुसार सिरहाका केही गाविसमा मतदाताभन्दा बढी मत खसेको भेटिएको छ ।
देशका कुन-कुन भागमा धाँधली भयो भन्नेबारे एमाओवादीले खाका सार्वजनिक गरिसकेको छैन । तर, देशैभरि मतदान सकिएपछि ४ गते राति धाँधली गरिएको एमाओवादीले आरोप लगाएको छ । धनकुटा १ का एमाओवादी उम्मेद्वार हेमराज भण्डारीले मतपत्रमा लगाइएको छाप एकैखालको रहेको, पट्याइएको शैली पनि एउटै देखिएको र बदर मत कम भएकाले रातारात सुरक्षा निकायले गडबडी गरेको आशंका व्यक्त गर्नुभएको छ ।
पराजयका विविध कारण
एमाओवादी नेताहरुले जनलहर आफ्नो पक्षमा रहँदा रहँदै धाँधलीका कारण चुनाव हारेको दाबी गरे पनि धाँधली नै भएको हो वा होइन भन्ने पुष्टि हुन बाँकी छ । यस्तो प्रकृतिको धाँधली देशैभरि भयो या कति ठाउँमा भयो भन्ने पनि खुलेको छैन । तर, के एमाओवादी पार्टीको पराजयमा धाँधली एकमात्रै कारण हो त ? के मंसिर ४ गतेका दिन देशभरिका मतपेटिकामा नेपाली जनताको बहुमत एमाओवादीकै पक्षमा खसेको थियो त ? कि जनताले एमाओवादीलाई थोरै मत दिएका हुन् ? यसबारे एमाओवादी नेताहरुले आँखा चिम्लिए भने सत्यको नजिक पुग्न सकिँदैन । सत्यको नजिक नपुग्ने हो भने पार्टीले अझै ठूलो हण्डर र ठक्कर खानुपर्ने हुन सक्छ ।

निर्वाचनमा कुन कारणले देशव्यापीरुपमा पराजय व्यहोर्नुपर्‍यो भन्ने बारे एमाओवादीले पक्कै पनि आफ्नो केन्द्रीय समिति बैठकमा समीक्षा गर्ला । जनताको अभिमत कतातिर गएको छ भन्ने विषयमा एमाओवादी नेताहरुले केन्द्रीय समिति बैठकमा गम्भीर विश्लेषण गर्नुपर्ने आवश्यकता देखिएको छ । तर, प्राविधिक कारण देखाएर आफ्नो कमजोरी ढाकछोप गरियो र जनताले किन मत दिएनन् भन्ने कारणहरुको खोजी गरिएन भने पार्टी फेरि अर्को संकटमा फस्ने खतरा रहन्छ ।
हावादारी ‘हाइपोथेसिस’
निर्वाचनमा सहजै जितिन्छ भन्ने अवैज्ञानिक फिल्ड रिपोर्टका आधारमा एमाओवादीले विश्लेषण गरेको देखिन्छ । फिल्डमा उसको दयनीय स्थिति पहिल्यै प्रष्ट देखिएको थियो, तर कार्यकर्ताहरु एकोहोरो चुनाव जित्ने दाबी गरिरहेका थिए । कार्यकर्ताको त्यही हावादारी विश्लेषणमा टेकेर नेताहरु पूर्ण बहुमत आउने भ्रममा परे । नेता जुन जिल्ला जाँदा पनि कार्यकर्ता र समर्थकको भीड देखियो । हेलीकोप्टरमा जिल्ला जाँदा होस् या मेची काली अभियानमा हप्तौंसम्म राजमार्गमा सभा गर्दा होस् आमसुभामा देखिएका मानिसको टाउको गनेर दुई तिहाइ मत आउने आँकलन गरियो । तर, जनताको वीचमा गएर संगठन गर्ने काममा न नेताहरु लागे, न त कार्यकर्ता नै ।
दुई चारजना मान्छेलाई पार्टीमा प्रवेश गराएर, कलाकार र हिरो हिरोइनहरु सडकमा उतारेर अनि दाह्री बुढा र इकु एकुलाई पार्टीमा प्रवेश गरेको देखाएकै भरमा जनताले भोट हाल्छन् भन्ने गलत ‘हाइपोथेसिस’ एमाओवादी नेताहरुमा देखियो ।
आफैंभित्रको विकृति र गलत नीतिका कारण जनताबाट तिरस्कृत बनेको थाहा पाइसक्दा पनि एमाओवादी नेताहरु अहिले ओठ र मुख सुकाएर ‘धाँधलीका कारणले चुनाव हारेको’ भन्ने प्रतिक्रिया दिइरहेका छन् । यो कुरा निश्चित छ कि जनताले एमाओवादीलाई साथ दिएको भए या प्रचण्डलाई राष्ट्र नेताको मान्यता दिएको भए एकैरातको षड्यन्त्रले मात्र देशैभरि एमाओवादीको यस्तो दयनीय परिणाम आउने थिएन । एमाओवादीले चुनाव हार्नुमा आन्तरिक कारण नै प्रमुख हो, बाह्य कारणचाँहि  गौण हो ।
दोस्रो संविधानसभाको मतगणना नसकिँदै एमाओवादी मतगणना प्रक्रियाबाट बाहिरिएको छ । अध्यक्ष प्रचण्डले मतगणना प्रक्रियालाई तत्काल स्थगन गरी पुनरावलोकन गर्न सरकार र निर्वाचन आयोगसँग आग्रह गर्नुभएको छ । तर, निर्वाचन आयोगले मतगणना नरोकिने पत्रकार सम्मेलनमार्फत् स्पष्ट पारिसकेको छ । मतगणना प्रक्रियालाई स्थगन गरेर पुनरावलोकन नगरिए आगामी संविधानसभामा सहभागी नहुने प्रचण्डले स्पष्ट पार्नुभएको छ । एमाओवादी नेताहरुको यस्तो कदमले उनीहरुलाई फाइदा गर्दैन र आगामी दिनमा जनतामा झनै बद्नाम गराउने छ । विगतमा एमाले र कांग्रेसले ०६४ मा गरेजस्तै हार स्वीकार गरेर शालीन ढंगले अर्कोपटक जनतामा जानुको विकल्प सकिएको छ एमाओवादीसँग ।

पहिलो संविधानसभामा विना संगठन जनताको अपार आशा र विश्वासका कारण ठूलो पार्टी बनेपछि एमाओवादी नेता कार्यकर्तामा दम्भ धेरै बढ्यो । उनीहरु शहरकेन्दि्रत भए । पैसामुखी बने । गाउँलाई चटक्कै बिर्सने काम गरे । पार्टीमा विकृति र भ्रष्टाचार बढ्यो । यद्यपि उनीहरुले दोस्रो चुनावमा आफूलाई दुई तिहाइ बहुमत ल्याउन सक्ने ठूलो पार्टी बनिसकेको ठाने ।
आफूलाई अग्रगामी भन्ने तर परिवारवाद र भ्रष्टाचारको आहालमा एमाले र कांग्रेसलाई पनि बिर्साउने गरी चुर्लम्म बनेपछि एमाले र कांग्रेसको विकल्प खोजिरहेका जनतामा एमाओवादीप्रति घाँटी-घाँटीसम्मै वितृष्णा उग्लियो । आफ्नो पार्टीको अवस्था कति खोक्रो छ भन्ने कुराको पत्तो नै नपाई उनीहरु सतही विश्लेषणकै आधारमा हतार हतार मंसिरको चुनावमा गए । चुनाव आउनुभन्दा केही साताअघि मात्रै काठमाडौं १० को स्थलगत भ्रमणबाट अनलाइनखबरले तयार पारेको भिडियोसहितको समाचारमा त्यतिबेलै प्रचण्डले हार्न सक्ने संकेत दिइएको थियो । त्यसले एमाओवादीप्रति देशैभरि कस्तो वितृष्ण बढेको छ भन्ने संकेत गर्दथ्यो, जुन कुरा निर्वाचनपछि पुष्टि भयो ।
केही इनेगिनेका बुद्धिजीवी, कलाकार र ‘इकु-इकु’लाई सडकमा उतार्दैमा जनताको मनमा बास बस्न नसकेसम्म चुनाव जितिँदैन भन्ने एमाओवादी नेताले रत्तिभर बुझेनन् । काठमाडौं १० को ठूलो जनमत प्रचण्डको विपक्षमा देखिन्थ्यो, जुन कुराको उनीहरुले सामान्य भेऊसम्म पाएनन् ।  काठमाडौं २ मा पनि अनलाइखबरले स्थलगत रिपोटिङपछि एमाओवादीका लीलामणि पोख्रेल तेस्रो बन्ने संकेत दिएको थियो । तर, पत्रकारको स्वतन्त्र विश्लेषणलाई एमाओवादी कार्यकर्ताहरुले ‘अन्य दलबाट पैसा खाएर गरिएको’ आग्रहपूर्ण र हावादारी रिपोर्टको संज्ञा दिए । एमाओवादीले १ सय भन्दा कम सीट ल्याउँ भन्नेहरुलाई उनीहरुले हप्काए । रेखा थापादेखि रामचन्द्र झासम्म अनि बाबुराजा ओझादेखि ल्हारक्याल लामासम्म आफ्नो पार्टीमा प्रवेश गरिरहेका बेला एमाओवादीले कसरी २ सयभन्दा कम सीटमा जित्छ ? एमाओवादी नेताहरुमा यस्तैखालको बचकना विश्लेषण देखियो ।
यसपालि तराई, मधेस र पहाडको जनजाति वस्तीमा समेत एमालेको पक्षमा जनमत देखिएको छ । लिम्बुवान र खम्बुवानमा एमाले अनपेक्षितरुपमा अगाडि आएको छ । एमाओवादीको जनलहर उर्लिएको भनिएको मधेसमा समेत एमालेले ऐतिहासिक प्रभाव कायम गरेको छ । देशभरिको जनमतको अवस्थालाई हेर्दा जातीय राज्यका पक्षधरहरु कमजोर देखिएका छन् भने कांग्रेसभन्दा पनि अस्पष्ट भनिएको एमालेलाई व्यापकरुपमा शुभलाभ हात परेको छ । पहिचानको मुद्दामा प्रष्ट भनिएका दलहरु कमजोर हुनु र अस्पष्ट भनिएको एमालेले मधेसमा समेत आफ्नो स्थिति मजबुद बनाउनुको कारण के हो ? यो अर्को विश्लेषणको पाटो हो ।
चुनावपछि अर्को गल्ती
प्रचण्डसँग ०६४ सालको चुनावमा दशौं हजार मतान्तरले हार्दा कांग्रेसका राजन केसीले हार स्वीकारेरै बसेका थिए । माधव नेपालले दुई ठाउँबाट हारेपछि नैतिकताका आधारमा एमाले पार्टीबाट राजीनामा दिएका थिए । केपी ओली, वामदेव गौतम, सुशील कोइराला, कृष्णप्रसाद सिटौला कोही पनि हारबाट बहुलाएनन् । ठूलो पार्टी  भनिएको कांग्रेस ३७ सीटमा र एमाले ३३ सीटमा खुम्चिएरै छ वर्षसम्म बसे । अरुको उदाहरण किन लिनु, पूर्वराजा ज्ञानेन्द्रले समेत जनआन्दोलनमार्फत् जनताबाट व्यक्त आवाजलाई शीरोपर गर्दै विना रक्तपात दरबार खाली गरे । तर, एमाओवादी नेताहरुले चुनाव हारेपछि यसको परिणाम अस्वीकार गर्ने र संविधानसभामा नजाने बताएर अर्को ऐतिहासिक भूल गर्न थालेका छन् । उनीहरुले यो गल्तीलाई सच्याएनन् भने यो भूल स्वयं उनीहरुकै लागि निकै महंगो पर्ने खतरा छ । एमाओवादीको यस्तो निर्णयबाट जनताले पनि दुख पाउने छन् र सिंगो मुलुकले हैरानी व्यहोर्नुपर्ने छ । यस्तो कार्यशैलीले भविश्यमा हुने अन्य चुनावमा एमाओवादीले जनताको विश्वास झनै गुमाउने निश्चित देखिन्छ ।

पहिलो संविधानसभामा जनताको अभिमतलाई मानेर, पीडा सहेर बसेका धेरै नेताहरुले यसपालिको चुनावमा माला लगाउने अवसर पाएका छन् । एमाओवादीको हकमा पनि यही कुरा सत्य हो । लोकतन्त्र र जनताको अभिमतलाई सम्मान गर्ने हो भने राजनीतिमा धैर्यता र संयम चाहिन्छ । इमान र जमान चाहिन्छ, जुन चिजको एमाओवादी नेताहरुमा अनिकाल देखिन थालेको छ । राजनीतिमा अढाइ सय वर्षको राजतन्त्रले त हार्छ भने लोकतन्त्रमा एउटा दलले पाँच वर्षका लागि हार स्वीकार गर्नु सामान्य विषय हो । एउटा हारबाटै बहुलाउनेहरुको राजनीतिक भविश्य सुरक्षित हुन सक्दैन ।
विहीबारको पत्रकार सम्मेलनमा एमाओवादी अध्यक्ष प्रचण्डले काठमाडौं ९, काठमाडौं ४, सिन्धुपाल्चोक र रुपन्देही ४ मा धाँधली भएको बताउनुभएको छ । तर एमाओवादीले ७५ वटै जिल्लाका निर्वाचन प्रतिनिधिस्थलबाट बुधबार राति नै बाहिर निस्कन आदेश दिइसकेको छ । कतिपय स्थानमा एमाओवादीले अग्रता लिएका कारण ती सीटहरुमा जित्ने संम्भावना छ । देशभरिको चुनावलाई अस्वीकार गर्ने हो भने आफूले जितेका सीटका मतदातालाई अपमान गरेको ठहरिन सक्छ ।
प्रचण्डले संकेत गरेका केही स्थानहरुमा धाँधली भएको हो भने ती क्षेत्रबारे अनुसन्धान या छानविन गर्न सम्भव हुन सक्छ, तर, निश्पक्ष भएका ठाउँमा वा एमाओवादी आफैंले जितेका ठाउँमा पनि निर्वाचनलाई अस्वीकार गर्छु भन्नु र संविधानसभामा भाग लिँदैनौं भन्नु भनेको खेल खेलिसकेर हार नस्वीकार्नु जस्तै देखिएको छ ।
न्यायको सिद्धान्तअनुसार जसले आरोप लगाउँछ, त्यसमा प्रमाणको भार पनि दोष लगाउनेले नै बुझाउनुपर्ने हुन्छ । न्यायको अर्को सर्वमान्य मान्यता के पनि छ भने जसले जति अपराध गरेको छ, उसलेमात्रै सजायँ पाउनुपर्छ, गल्ती नगर्नेलाई पनि सजायँको भागी बोकाउन पाइँदैन । त्यसैले एमाओवादीले दाबी गरेजस्तो कुनै चुनाव क्षेत्रमा मतपेटिका साटासाट या धाँधली भएकै हो भने ऊ आफैंले भन्न सक्नुपर्दछ कि कुन-कुन निर्वाचन क्षेत्रमा त्यस्तो धाँधली भएको हो ? ‘देशैभरि यस्तै भयो’ भनेर समग्र निर्वाचन प्रक्रियाको विरोध गरियो भने यसबाट ‘हार्ने गोरुको छुेर्ने दाऊ’ भन्ने उखान चरितार्थ हुन सक्छ ।
हार्नुको वास्तविक कारण खोज र पाठ सिक
एमाओवादी नेताहरुले निर्वाचन हुनुभन्दा अघिसम्म बहुमत निश्चित रुपमा आउने बताउँदै आएका थिए । मेची महाकाली जागरण अभियानपछि दुई तिहाइ नै आउने प्रचण्डको सार्वजनिक दाबी थियो । एमाओवादी नेताहरुले १ सय ६० देखि ८० सीटसम्म जित्ने बताएका थिए । तर, नेताहरुले आँकलन गरेको भन्दा कैयौं गुणा कम मत आउने संकेत देखिएको छ । किन यस्तो भयो ?
एमाओवादीले चुनाव अघि गरेको आँकलन नै गलत थियो । काठमाडौं र शहरमा गरिने होहल्ला बाहेक जनस्तरमा उसको लोकपि्रयता घटेको थियो । निर्वाचनको मुखमा ल्हारक्याल लामा जस्ता कयौं मान्छेलाई पार्टीमा प्रवेश गराएकै भरमा जनताले मत दिन्छन् भन्ठान्नु नै एमाओवादीको सबैभन्दा ठूलो दृष्टिदोष रह्यो ।
अब चुनाव सकिएपछि जनतामा आफ्नो लोकपि्रयता घटेको र आफूले कमजोरी गरेका कारण जनताले कम मत दिए भनेर स्वीकार गर्नुको साटो धाँधलीका कारण चुनाव हारियो भन्ने एमाओवादी निश्कर्ष नै हावादारी छ । एमाओवादीको अब बस्ने केन्द्रीय समिति बैठकमा यो विषयमा वैज्ञानिक विश्लेषण गर्न जरुरी छ कि एमाओवादीले चुनाव हार्नुको कारण नेताहरुभित्रै छ या बाहिरी कारणले यस्तो नतिजा आएको हो ?

जनयुद्धबाट आएको पार्टीले श्रवण यादवहरुलाई कारवाही गरेर रामचन्द्र झाहरुलाई काखी च्याप्नु, पार्टीभित्र भएको लडाकूको भ्रष्टाचारबारे छानविन गर्नुको साटो अभियोग लागेका लडाकूलाई समानुपातिकमा टिकट दिनु, इमान्दार र त्यागी कार्यकर्तालाई पाखा लगाएर स्थानीय कमिटीको सिफारिसविनै ल्हारक्यालहरुलाई रातारात सभासदको टिकट दिनु, घमण्ड गर्नु, जनताको घरदैलोमा जानुको साटो तडक-भडक, हेलीकोप्टर र जात्रा देखाएर हिँड्नु, कोही हेलीकोप्टरमा उडेर पैसा सक्नु, कसैलाई चुनाव खर्चसम्म नदिनु, समाजका अगाडि अनुहार देख्न नसक्ने गरी गन्हाएकालाई समेत टिकट दिनु, छोरी-बुहारीलाई काखी च्याप्नु र परिवारवादमा डुब्नु र जनताले ०६४ सालमा ठूलो पार्टीका रुपमा  दिएको सम्मानमा टेकेर जनपक्षीय काम गर्न नसक्नुलगायतका विकृति विसंगतिहरु चुनावी पराजयका लागि कत्तिको जिम्मेवार छन् ? यस विषयमा समीक्षा नगरी बहुमत जनता अझै हामीसँगै छन्, प्रतिक्रियावादीले चुनाव हराए भनेर गीत मात्रै गाउँदै हिँड्ने हो भने भविश्यमा एमाओवादी नामको पार्टीलाई गुगलमा खोज्नुपर्ने दिन नआउला भन्न सकिँदैन । चटक देखाएर जनता भुलाउन सक्ने जमाना गइसकेको छ । नेपाली जनता सचेत छन् । के भएर चुनाव हारियो भन्ने एमाओवादी मण्डलीलाई थाहा नभए पनि जनतालाई राम्रोसित थाहा छ ।
अब एमाओवादीले गर्नुपर्ने काम
एकपटक चुनाव हारेर बर्बाद भइन्छ भन्ने दृष्टिदोषबाट एमाओवादी नेताहरु मुक्त हुन जरुरी देखिएको छ । फेरि अर्कोपटक जनताको विश्वास जित्ने हो भने जनताको इच्छाविपरीत काम गर्नु हुँदैन । त्यसर्थ एमाओवादी नेताहरुले भविश्यलाई सोचेर राजनीति गर्ने हो भने चुनाव बहिस्कार गर्ने र संविधानसभामै नजाने निर्णय फिर्ता लिन जरुरी छ ।
आफैंले हस्ताक्षर गरेर गरिसकेको काम नमान्नु भनेको आफ्नो थुक आफैं चाटेजस्तो हुन सक्छ ।  हो, कुनै चुनाव क्षेत्रमा गडबडी भएको हो भने तत्तत् क्षेत्रमा पुनरावलोकनको माग गर्न सकिन्छ र पाइन्छ । तर, चुनाव हारेको झोंकमा चुनावै उल्टाउँछु भन्नु भनेको ‘ट्रेजेडी अफ सुपर पावर’ बाहेक केही पनि होइन ।
लेनिनले भनेकै छन्- ‘विजयमा घमण्ड नगर्नू, हारमा विलौना नगर्नू ।’ त्यसैले हारमा विलौना नगर गल्तीहरुबाट पाठ सिकेर जनतामा घुलमिल हुन सिक । सन् १९०७ पछिको निराशालाई बोल्शेभिकहरुले कसरी उत्साहमा बदलेका थिए । पेरिस कम्युनपछिको विश्व कम्युनिष्ट आन्दोलनमा देखापरेको कहालिलाग्दो निरशा कसरी आशामा बदलिएको थियो ? बुझ्न जरुरी छ ।
जनता नै भगवान हुन् भन्ने कुरालाई मान्ने हो भने अब एमाओवादी नेताहरुले आफ्नो पार्टीलाई शुद्धीकरण गरुन् र आवारा दल होइन, जनताको सेवक पार्टीका रुपमा स्थापित गरुन् । यसो गरेमा जनताले अर्कोपटक उसलाई पुरस्कृत गर्नेछन् । अन्यथा आफूलाई नसच्याउने र सर्वाङ्ग भैसक्दा पनि बाक्लो लुगा लगाएको छु भन्ने भ्रममा सडकमा ओर्लेर नाङ्गो नाच देखाउने हो भने एमाओवादीको अधोगतिलाई भगवानले पनि रोक्न सक्ने छैन । त्यसैले नेताहरु हो, होसमा आऊ र जननीति अख्तियार गर । तिमीहरुको एकपछि अर्को गलत निर्णयले गर्दा एमाओवादी भन्ने पार्टीलाई कुनै दिन गुगलमा खोज्नु नपरोस् ।
भ्रष्टाचारीहरुको सहारा लिएर सरकार चलाउँदा पार्टीले मधेसमा ठूलो क्षति व्यहोर्नुपर्‍यो, फेरि अहिले जनताको अभिमतलाई खिल्ली उडाउँदै तिनै भ्रष्ट नेताको साथ लिई सडक तताउनुभन्दा सानै संख्यामा भए पनि संविधानसभामा गएर अग्रगामी संविधानको पक्षमा संघर्ष गर्नु बुद्धिमत्तापूर्ण हुनेछ । सरकारमा बोलाउँदा पनि नगई विगतमा कांग्रेसले जस्तै इमान्दार प्रतिपक्ष भएर बस्यो भने भविश्यमा एमाओवादीको दिन र्फकन पनि सक्ला कि ? के एमाओवादी नेताहरुमा यो धैर्यता छ ?

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates