Social Icons

Monday, November 25, 2013

अन्तरिम संविधान संशोधन गर्न एमाओवादीको माग

धाँधलीबारे छानविन गर्न ५ सदस्यीय समिति गठन

१० मंसिर, काठमाडौं ।
 एकीकृत नेकपा माओवादीले सशर्त संविधानसभामा सहभागी हुने निर्णय गरेको छ । उसको शर्त अन्तरिम संविधान संशोधन गरेर सरकार र संविधान निर्माण प्रक्रिया सहमतीय आधारमा अघि बढाउनुपर्ने रहेको छ । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार सम्पन्न केन्द्रीय समितिको बैठकले सरकार र संविधान निर्माण प्रक्रिया सहमतीय प्रणालीका आधारमा अघि बढाइएको अवस्थामा संविधानसभामा सहभागी हुने निर्णय गरेको हो ।
maoist-party-office एमाओवादी बैठकले सहमतीय प्रणालीमा
जानका लागि अन्तरिम संविधान संशोधन गर्नुपर्ने माग गरेको छ । साथै संविधानसभा बाहिर रहेका शक्तिलाई पनि संविधानसभामा ल्याउन उपयुक्त विधिसहित आवश्यक पहल गरिनुपर्ने एमाओवादीको प्रस्ताव छ । यसमा विशेष गरी एमाओवादीले वैद्य माओवादीलाई संविधानसभामा ल्याउने संविधानतः मार्ग प्रशस्त गर्नुपर्ने संकेत गरेको हो । बैठकले चुनावमा भएको धाँदलीबारे छानविन गर्न सरकारका तर्फबाट उच्चस्तरीय आयोग गठन गर्न माग गरिएको छ । चुनावमा हुनसक्ने धाँधलीबारे बेलैमा सचेत भई त्यसलाई रोक्न नसक्नु नेतृत्वको गम्भीर कमजोरी रहेको भन्दै केन्द्रीय समितिले आत्मालोचना समेत गरेको छ ।

बैठकले एमाओवादीले संविधानसभामा सहभागिताका लागि शर्त अघि सारे पनि शान्ति र संविधानको बाटोबाट अलग नहुने निर्णय गरेको छ । ‘शान्ति र संविधान निर्माण प्रक्रियाबाट बाहिर जाने अवस्था छैन’ बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो- ‘तर, सरकार र संविधान निर्माण प्रक्रिया सहमतिमा हुन्छ भने संविधानसमा जान्छौं, नत्र जाँदैनौं ।’

धाँधलीको छानविन गर्न समिति गठन चुनावमा भएको धाँधलीको छानविन गर्न बैठकले पाँच सदस्यीय छानविन समिति बनाएको छ । समितिमा वर्षमान पुन अनन्त, रामचन्द्र झा, खिमलाल देवकोटा, जनकलाल जोशी र रामनारायण विडारी रहनुभएको छ । समितिको संयोजक नतोकिए पनि बरिष्ठताका हिसाबले वर्षमान पुनले संयोजकत्व गर्ने स्रोतले बतायो । समितिलाई ७ दिनको म्याद दिइएको छ ।

बैठकले उम्मेदवार र केन्द्रीय सदस्यहरुलाई आ-आफ्नो क्षेत्रमा मतदातालाई धन्यवाद दिन र धाँधलीको रिपोर्ट संकलन गर्न एक महिने अभियानमा पठाउने निर्णय गरेको छ । सोमबार बोलाइएको केन्द्रीय समितिको बैठक एकै दिनमा सकिएको छ । अर्को बैठक नेताहरु फिल्डबाट प्रतिवेदन लिएर फर्किएपछि पुस ९ गते बस्ने पार्टी प्रवक्ता अग्नि सापकोटाले बताउनुभएको छ ।

पराजयको मुख्य कारण धाँधली, गौण कारण आन्तरिक : प्रचण्ड

झण्डै एकघण्टा बैठकलाई सम्बोधन गर्नुभएका प्रचण्डले चुनावमा अप्रत्यासहित हारको कारण केही आन्तरिक भए पनि मुख्य धाँदली नै भएको बताउनुभयो । ‘यस्तो परिणाम आउनुमा केही आन्तरिक कारण पनि छन्’ उहाँको भनाइ उद्धृत गर्दै एमाओवादीका एक नेताले भने-’तर, मुख्य कारण धाँदली नै हो ।’ ठूला कमिटीहरु बन्नु र संगठन अस्तव्यस्त हुनुलगायतका कमजोरी रहेको स्वीकार गर्दै प्रचण्डले चुनावी अभियान, संगठन परिचालन, जनलहर हेर्दा माओवादीको यो परिणाम आउने कुनै अवस्था नभएको बताउनुभयो ।

वैठकपछि एमाओवादी प्रवक्ता अग्नि सापकोटाले जारी गर्नुभएको विज्ञप्तिमा पार्टीले गम्भीर आत्मालोचना गरेको बताउँदै भनिएको छ ‘षड्यन्त्र एवम् धाँधलीको योजनालाई समयमै पहिचान गरी त्यसो गर्न नदिने सम्बन्धमा पार्टीको तर्फबाट भएको कमजोरी र अन्य संगठनात्मक कमजोरीहरुको बारेमा गम्भीर आत्मालोचना गर्दै अझ विस्तृत समीक्षापछि थप कार्ययोजनाका साथ अघि बढ्ने निर्णय छ ।’

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates