Social Icons

Monday, November 25, 2013

झुक्किए मतदाता, गाईको भोट गोरुलाई

सोमबार १० मंसिर, २०७०

मकवानपुर— चुनावमा अनेक हतकण्ठा अपनाइन्छ। साम, दाम, दण्ड, भेदको प्रयोगले चुनाव जित्न उम्मेदवार र दल लागिपर्छन्। मतदाताले चुनावमा सकेसम्म आफूले चाहेकै व्यक्तिलाई मत दिन सकून भनेर मतदाता शिक्षा सञ्चालन गरिन्छन्। चुनाव चिन्हले पनि मत बढाउन-घटाउन भूमिका खेल्छ। यसपटक एकै खालको चुनाव चिन्हको कारण मतदाता झुक्किएका छन्।
निर्वाचन आयोगले दिएको चुनाव चिह्नमा राप्रपा नेपालको गाई, तराइ–मधेस लोकतान्त्रिक पार्टीको जोडा गोरु र अर्ना भैंसीमा मतदाता झुक्किएका छन्। त्यस्तै, एकीकृत नेकपा माओवादीको गोलाकारभित्रको हसियाँ हथौडा, नेकपा मालेको हँसिया तारा र नेकपा संयुक्तको हँसिया चिन्हमा मतदाता अल्मलिए। 

दृष्टि कमजोर भएको र वृद्ध अवस्थाका मतदाताले गाई चिन्हमा मतदान गर्नुसाटो जोडा गोरुमा मतदान गरेको खुलेको छ। संयोगवश मतपत्रको माथिल्लो लहरको तेस्रो स्थानमा गाई र छैठौं स्थानमा जोडागोरु चिह्न थियो।

गाई चुनाव चिन्ह भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाको गृहजिल्ला मकवानपुरमा समानुपातिकमा तमलोपाले उल्लेख्य मत पाएको छ। मकवानपुरमा प्रत्यक्ष तथा समानुपातिकतर्फ तमलोपाको उम्मेदवार छैनन्। तमलोपाको जोडा गोरु चिन्हमा मकवानपुरमा २२ सय ९ मत प्राप्त गरेको छ। राप्रपा नेपालको लागि गाई चिन्हमा २८ हजार २ सय ४१ मत प्राप्त भएको थियो। राप्रपा नेपालको स्थान तेस्रो छ भने तमलोपाले छैठौं स्थान ल्याएको छ। पहिलो एमाले, दोस्रो एमाओवादी, तेस्रो राप्रपा नेपाल र चौथो कांग्रेस छ। पाँचौमा नेकपा मालेपछि छैठौं स्थानमा तमलोपा आइपुगेको छ।

समानुपातिकमा नेकपा संयुक्तको हँसिया चिन्हमा १४ सय ५५ राप्रपाको हलो चिन्हमा १२ सय ९२ मत आएको छ। तमलोपाभन्दा बढी गतिविधि हुने र प्रत्यक्ष र समानुपातिकमा उम्मेदवार भएका मधेसवादी दलको मत पनि न्यून हुँदा तमलोपाको २२ सय मत आउनुलाई 'मतदाता झुक्किएको' ठानिएको छ। मकवानपुरमा सदभावनाको १३५, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको २४९, मधेसी जनअधिकार फोरम नेपालको १२३ मत आएको छ । फोरम गणतान्त्रिकको १६, तराई मधेस सदभावना पार्टीको ६१ र राष्ट्रिय मधेस समाजवादी पार्टीको ८१ मत आएको छ ।

प्रत्यक्षमा जोडागोरु चुनाव चिन्ह मतपत्रमा थिएन । तर स्वतन्त्रबाट उठेका उम्मेदवारले अर्ना भैंसी चिन्ह छनोट गर्दा गाईको मत काटिएको छ । स्वतन्त्रमध्ये सबैभन्दा बढी मत अर्नाभैंसी चिन्हले पाएको छ । ३ नं क्षेत्रबाट चुनाव लडेका ओविन्द्रबहादुर लुईँटेलले ३ सय ८४ मत ल्याएका छन् ।

४ नं क्षेत्रका दिलबहादुर स्याङ्तानले १०० मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार लुईँटेलले पनि आफूले सुझबुझका साथ अर्ना भैंसी चिन्ह लिएको बताए । समानुपातिकमै हँसिया तार चिन्ह भएको मालेको चिन्हमा २१ सय ५५ र नेकपा संयुक्तको हँसिया चिह्नमा १४ सय ५५ मत पाएको छ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates