Social Icons

Friday, November 22, 2013

को बन्दैछ नयाँ सरकारको अर्थमन्त्री ?

चुनावी मैदानमा ६ मध्ये ३ पूर्वअर्थमन्त्री पराजित

८ मंसिर, काठमाडौं ।
 आफूलाई भावी अर्थमन्त्री दाबा गर्दै दोस्रो संविधानसभाको चुनावी मैदानमा उत्रिएका ६ जना पूर्वअर्थमन्त्रीमध्ये ४ जना बिजयी भएका छन् भने २ जना हारेका छन् । पूर्वअर्थमन्त्री एवं एमाले नेता भरतमोहन अधिकारीको नाम समानुपातिकको सूचीमा छ । नयाँ सरकार गठन भएमा एमाले वा कांग्रेसमध्ये कसैले सरकारको नेतृत्व गर्ने निश्चित देखिएको छ । यो स्थितिमा अर्थमन्त्रालय कसको पोल्टामा पर्ला भन्नेबारे आर्थिकवृत्तमा चासो बढेको छ ।
ex-finance-minester
पूर्वअर्थमन्त्रीहरु महेश आचार्य, डा. रामशरण महत, प्रकाशचन्द्र लोहोनी, डा. बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे र वर्षमान पुन प्रत्यक्ष चुनावी मैदानमा उत्रिनुभएको थियो । चुनावी प्रतिस्पर्धामा उत्रिएकामध्ये राप्रपाका प्रकाशचन्द्र लोहोनी र एमाओवादीका वर्षमान पुनबाहेक सबै पूर्वअर्थमन्त्री बिजयी भएका छन् ।
कांग्रेसबाट उम्मेदवार बन्नुभएका महेश आचार्य मोरङ ६ बाट विजयी हुनुभएको छ । उहाँ ०४६/०४७ सालको जन आन्दोलनपछि बनेको कांग्रेसको बहुमतको सरकारमा अर्थमन्त्री हुनुभएको थियो । उहाँकै कार्यकालदेखि नेपालमा आर्थिक उदारीकरण भित्रिएको थियो ।

नुवाकोट २ मा कांग्रेसबाट उम्मेदवार बन्नुभएका डा. रामशरण महत एमाओवादीका हितबहादुर तामाङलाई पराजित गरी विजयी हुनुभएको छ । महत पटक-पटक अर्थमन्त्री भइसक्नुभएको छ । त्यसैगरी पूर्व अर्थमन्त्री एवं राप्रपाका नेता प्रकाशचन्द्र लोहनी भने नुवाकोटबाट पराजित हुनुभएको छ । लोहनी यस चुनावमा एमाले, कांग्रेस र माओवादीका उम्मेदवारभन्दा तल पर्नुभएको थियो । तर उहाँले चुनावमा धाँधली भएको भन्दै अडियो समेत सार्वजनिक गर्नुभएको छ ।

रुपन्देही ४ र गोरखा १ बाट प्रत्यक्ष चुनावमा होमिनुभएका पूर्व अर्थमन्त्री डा. बाबुराम भट्टराईले रुपन्देहीबाट पराजय भोग्नुपर्‍यो भने गोरखाबाट ठूलो मतान्तरका साथ बिजयी हुनुभएको छ । जनआन्दोलनपछिको सरकारमा अर्थमन्त्री हुनुभएका उहाँले आफ्नो कार्यकालमा कतिपय प्रशंसनीय कामहरु गर्नुभएको थियो । उहाँको अर्थमन्त्रीकालको खुलेर प्रशंसा गर्नेहरु धेरै छन् ।

अर्का पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे चितवन १ बाट १८ हजार ७ सय ९९ मत प्राप्त गरी बिजयी हुनुभएको छ । माओवादीको सरकार ढलेपछि बनेको सरकारको अर्थमन्त्री बन्नुभएका पाण्डेले आफ्नो कार्यकालमा राम्रै प्रभाव छाडेर जानुभएको थियो । माओवादी र मधेशवादी दलहरु मिलेर बनेको बाबुराम नेतृत्वको सरकारमा अर्थमन्त्री बन्नुभएका वर्षमान पुन भने मोरङ ९ बाट पराजित हुनुभएको छ । उहाँलाई कांग्रेसका डिगबहादुर लिम्बुले पराजित गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा नियमितरुपमा वाषिर्क वजेट ल्याउन र महत्वपूर्ण निर्णय तथा कदमहरु चाल्दा परामर्श लिने परिपाटी बसाल्न पूर्वअर्थमन्त्रीहरुको क्लब बनाउने नयाँ प्रस्ताव अघि सार्नुभएको थियो ।

पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी एमालेको समानुपातिक सुचिमा हुनुहुन्छ । उहाँलाई एमालेले संविधानसभामा ल्याउने निश्चित छ । ०५१ सालमा बनेको एमालेको सरकार र ०६२/०६३ को जन आन्दोलनपछिको सरकारमा समेत अधिकारी अर्थमन्त्री बन्नुभएको थियो । उहाँ पछिल्लोपटक अर्थमन्त्री बन्दा तत्कालीन अर्थसचिव रामेश्वर खनालसँग विवाद भएको थियो, जुन कारणले तत्कालिन अर्थसचिव रामेश्वर खनालले राजीनामा दिनुभएको थियो ।

को बन्ला भावी अर्थमन्त्री ?
अब बन्ने सरकारको अर्थमन्त्री यिनै बिजेता अनुहारमध्ये कुनै एक हुने भएकाले कसले अर्थमन्त्रालय सम्हाल्ला भनेर चर्चा आर्थिक वृत्तमा चल्न थालेको छ । एमालेका भागमा अर्थमन्त्रालय परेमा सुरेन्द्र पाण्डे र भरतोहन अधिकारीवीच अर्थमन्त्री बन्ने होडबाजी हुने देखन्छि । त्यसैगरी कांग्रेसले अर्थमन्त्रालय सम्हालेको अवस्थामा महेश आचार्य र डा. रामशरण महतवीच अर्थ मन्त्रालयका लागि हानाथाप हुने देखिएको छ ।
तर, नेपालमा अर्थमन्त्रीको दक्षताले भन्दा पनि पार्टीको नीतिअनुसार काम गर्नुपर्ने वाध्यात्मक स्थिति भएका कारण अर्थमन्त्रीहरुले जनताको चाहनाअनुरुप काम गर्न सकेका छैनन् ।

पार्टीको लाइनअनुसार अर्थमन्त्रीले काम गर्नुपर्ने हुँदा जो अर्थमन्त्री भएपनि खासै फरक नपर्ने अर्थविद विश्वम्भर प्याकुर्‍याल बताउनुहुन्छ । उहाँका अनुसार राम्रो नीति भएको पार्टीको नेता अर्थमन्त्री हुनुपर्छ । नेपालमा भएका पूर्वअर्थमन्त्रीहरुमा खासै अर्थतन्त्रको ज्ञान नभएको उहाँको तर्क छ । सामान्यतया अर्थमन्त्री हुनका लागि अर्थशास्त्रको राम्रो ज्ञान हुनुका साथै मुलुकभित्र रहेको स्रोत साधनको राम्रो जानकारी भएको हुनुपर्छ ।

त्यसो त अब बन्ने सरकारले संविधान निर्माणमा जोड दिनुपर्ने हुँदा जनताले महशुस गर्ने खालका विकास निर्माणका कामहरु होलान् भन्ने आशा राख्नु मूर्खता हुने अर्थशास्त्रीहरुको भनाई छ । यसो भन्दैमा अर्थमन्त्रीले विकास निर्माणका कामहरुमा हातै नहाल्ने भन्ने हुँदैन । अब हुने अर्थमन्त्री जनताको चाहाना बमोजिमका कामहरु गर्न सक्नेखालको हुनुपर्ने अर्थशास्त्रीहरु जोड दिन्छन् ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates