Social Icons

Monday, November 25, 2013

सुशील कोइराला र माधव नेपालको दौडधूप बढ्यो

एकै दिन प्रचण्ड, भारतीय राजदूत र युरोपियनसँग भेटघाट
१० मंसिर, काठमाडौं ।
 चुनाव सकिनासाथ नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको दौडधूप एकाएक बढेको छ । आफ्नो नेतृत्वमा सरकार बनाउने ध्याउन्नमा रहेका दुबै नेताले सोमबार एमाओवादी अध्यक्ष प्रचण्ड र भारतीय राजदूतसँग अलग-अलग भेटघाट गर्नुभएको छ ।
Madhav-susilचुनावपछि आफ्नो नेतृत्वमा सरकार बनाउने कसरतअनुरुप कांग्रेस र एमालेका नेताहरुको दौडधूप बढेको हो । यद्यपि समानुपातिकको जारी मतगणनाले कांग्रेस नै ठूलो पार्टी हुने संकेत
देखिए पनि अझै निश्चित भइसकेको छैन । प्रत्यक्षतर्फ भने कांग्रेसले १ सय ५ र एमालेले ९१ सिटमात्रै जितेको हुनाले कांग्रेस नै ठूलो दल हुने बढी सम्भावना छ ।
कोइराला र नेपालले चुनावमा धाँदली भएको भन्दै संविधानसभामा नजाने धम्की दिएका एकीकृत नेकपा माओवादी र मधेसवादी दलहरुलाई सहमतिमा ल्याउन पहल थाल्नुभएको छ । साथै दुबै नेताले कुटनीतिक नियोगका प्रतिनिधिहरुसँगको भेटवार्ता पनि जारी राख्नुभएको छ । कोइराला र नेपालको सक्रियतालाई असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउनेसँगै सरकारको नेतृत्व लिने कसरतका रुपमा हेर्न थालिएको छ ।
कांग्रेस सभापति कोइरालाले सोमबार बिहान प्रचण्ड निवास लाजिम्पाट पुगेर सहमतिबाटै अघि बढ्न आग्रह गर्नुभयो । कोइरालाले जनमतको सम्मान गर्न र संविधानसभा बहिस्कार नगर्न प्रचण्डलाई आग्रह गर्नु भयो । भेटपछि कोइरालाले प्रचण्ड सहमतिका साथ अघि बढ्न सकारात्मक रहेको दाबीसमेत गर्नुभयो ।
त्यसैगरी सभापति कोइरालाले सोमबार नै भारतीय राजदूत रन्जित रेसँग पनि भेटवार्ता गर्नु भयो । कोइरालाले अमेरिकी राजदूत पिटर डब्ल्यु बोडेसँग मंगलबार बिहान भेट्ने कार्यक्रम तय भएको छ भने युरोपेली मुलुकका राजदूतहरुसँग बुधबार भेट्ने कार्यक्रम छ ।
माधव नेपालको भेटघाट
त्यसैगरी एमाले वरिष्ठ नेता नेपालले सोमबार नै एमाओवादी अध्यक्ष प्रचण्ड र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठकुरसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ ।
आफ्नै निवासमा भएको भेटमा नेता नेपालले संविधानसभा बहिस्कार नगर्न र सहमतिमा आउन आग्रह गर्नुभएको छ । ‘एमाओवादीले उठाएका एजेण्डालाई कसरी सम्बोधन गर्ने र संविधान निर्माण प्रक्रियालाई कसरी सहमतिका साथ अघि बढाउने भन्नेबारे छलफल भएको हो’ नेपालका स्वकीय सचिव मोहन गौतमले भन्नुभयो-’अन्य मधेसवादी दलहरुसँग पनि टेलिफोनमा कुराकानी भइरहेको छ ।’ नेता नेपालले सोमबार नै युरोपियन, अमेरिकी, भारतीय र रसियन राजदूतहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरिसक्नु भएको छ ।
खनालभन्दा नेपालको सक्रियता ?
सुशील कोइराला नेपाली कांग्रेसका सभापति भएकाले उहाँको सक्रियता र दौडधूप सहज देखिए पनि एमालेभित्र अध्यक्ष झलनाथ खनाल भन्दा बरिष्ठ नेता नेपालको सक्रियतालाई सो पार्टीभित्रको असहज स्थितिसँग दाँजेर केहीले हेर्न थालेका छन् । चुनावको मुखैमा समानुपातिकतर्फको नामावली हेरफेर गरेको आरोप लागेपछि केपी ओलीले त्यतिबेलै प्रश्न गर्नुभएको थियो, ‘एमालेको अध्यक्ष झलनाथ खनाल हो कि माधव नेपाल ?’ चुनावपछि भारतीय राजदूत लगायत विदेशीसँगको भेटघाटमा माधव नेपालको सक्रियता बढेपछि भावी प्रधानमन्त्रीका रुपमा नेपालले खनाल र ओलीलाई ‘क्रस’ गर्न खोजेको सो पार्टीभित्रका एकथरि नेताहरुले आशंका गर्न थालेका हुन् ।
तर, एमालेका केही नेताहरुको तर्क के छ भने झलनाथ खनाल र माधव नेपालवीच आपसी समझदारी राम्रो रहेको छ । एमाले ठूलो दल बन्ने अवस्था आए खनालले नै प्रधानमन्त्रीको जिम्मेवारी लिन खोज्ने तर, एमाले दोस्रो दल बनेको अवस्थामा नेपालको चाहना राष्ट्रपति बन्ने रहेको एमालेवृत्तमा चर्चा चल्न थालेको छ । तर, एकथरि नेताहरु चाँहि एमाओ अध्यक्ष झलनाथ खनालभन्दा नेता नेपाल सक्रिया र क्षमतावान् भएकाले उहाँ बढी सक्रिय देखिनुभएको बताउँछन् ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates